
धादिङ।उत्तरी धादिङको सुप्रसिद्ध संगम स्थल प्राकृतिक सुन्दरताको खानी, सांस्कृतिक रूपमा सम्पन्न र ऐतिहासिक महत्त्व बोकेको पवित्र धार्मिक तपोभूमि सिङ्ल्हा माने धादिङको खनियाँवास गाउँपालिका र रुबी भ्याली गाउँपालिकाको सीमा क्षेत्रमा पर्दछ । समुन्द्री सतहबाट चार हजार दुई सय मिटरको उचाइमा अवस्थित सिङ्ल्हा क्षेत्र धादिङ, नुवाकोट र रसुवाको सङ्गम स्थल पनि हो ।
सिङ्ल्हामा प्रत्येक वर्ष जनै पूर्णिमाको दिन विशेष मेला लाग्ने गरेको छ । परापूर्वकालदेखि नै तामाङ समुदायका बोम्पो (झाँक्री) र लामाहरू प्रत्येक वर्षको भदौ पूर्णिमा(जनै पूर्णिमा)को दिन सिङ्ल्हामा प्रार्थना गर्न जाने प्रचलन रहेको छ।
बोम्बोहरुले आफ्ना शक्ति बढाउन वा नयाँ चेलाहरूलाई दीक्षान्त प्रदान गर्न सिङ्ल्हालाई रोज्ने गर्दथे । पुराना बोम्बोहरू थप शक्ति बढाउन र नयाँ बोम्पोहरू गुरुबाट दीक्षित हुन सिङ्ल्हा जाने गर्दछन् ।
जनै पूर्णिमाको बेला (साउन-भदौको महिना)मा पानी पर्ने र मेला भर्न जान कठिन हुने भएकाले बुद्धजयन्तीको अवसरमा मेलाको आयोजना गरिएको सिङ्ल्हा पर्यटन विकास समाजका अध्यक्ष मङ्ग तामाङले बताए ।
“प्राकृतिक सुन्दरताले भरिएको सिङ्ल्हा बोन धर्म र बुद्ध धर्मसँग जोडिएको पवित्र धार्मिक स्थल हो । परापूर्वकालदेखि नै बोम्म्बोहरू जनैपूर्णिमाको अवसरमा यहाँ आउने र विशेष मेला पनि भर्ने गरेको छ । तर, उक्त समयमा पानी पर्ने समय भएकाले टाढाका मानिसहरू आउन सक्दैनन्”, अध्यक्ष तामाङले भने, “बुद्ध जयन्ती (वैशाख पूर्णिमाको) अवसरमा मेला आयोजना गर्दा टाढा टाढाका मानिसहरू पनि पुग्न सक्छन् । यस बेला मौसम सफा पनि रहन्छ । त्यसैले हामीले बुद्ध जयन्तीको अवसरमा पनि मेला आयोजना गर्न थालेका हौँ ।”यस वर्षदेखि प्रत्येक वर्ष बुद्धजयन्तीको अवसरमा मेलाको आयोजना गरिने तामाङले बताए । “यस वर्ष हामीले सुरुवात गर्न लागेका हौँ । अब आगामी वर्षहरूमा पनि बुद्धजयन्तीको अवसरमा मेला निरन्तर लाग्नेछ ।”