धादिङ। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सार्वजनिक कुल ६७ अर्ब ४७ करोड ७३ लाख १७ हजारको बजेटमा कुल ४१ अर्ब ४३ करोड पुँजीगत तर्फ ६१ प्रतिशत बजेट विनियोजन मध्ये नुवाकोट जिल्लाका लागि ३ अर्ब ३१ करोड ६४ लाख ९० हजार रुपैयाँ विनियोजन गरिएको छ।
मुख्यमन्त्रीसमेत रहेका बहादुरसिंह लामा तामाङ, प्रदेश सभा सदस्य राधिका तामाङ तथा रमेश कुमार महतको समन्वय नुवाकोटमा विभिन्न पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटनका शीर्षकमा उल्लेख्य बजेट विनियोजन भएको हो।
प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार यो बजेट कुल बजेटको करिब १० प्रतिशत हिस्सा हो। संघीय राजधानी काठमाडौं र प्रदेश राजधानी रहेको मकवानपुरपछि नुवाकोट र काभ्रे जिल्लामा समान रूपमा १०–१० प्रतिशत बजेट छुट्याइएको मन्त्रालयले जनाएको छ।
हालैको बजेटमा राजधानी काठमाडौंका लागि ११.९ प्रतिशत, मकवानपुरमा १०.६ प्रतिशत, सिन्धुपाल्चोकमा ८.४ प्रतिशत, आर्थिक मामिला मन्त्रीको गृहजिल्ला दोलखामा ८.३ प्रतिशत, चितवनमा ७.५ प्रतिशत, सिन्धुलीमा ६.८ प्रतिशत, ललितपुरमा ६.७ प्रतिशत, रामेछाप र धादिङमा ६.१ प्रतिशत, भक्तपुरमा ४.८ प्रतिशत र रसुवामा २.८ प्रतिशत बजेट विनियोजन भएको छ।
जिल्लागत विनियोजन विवरण हेर्दा नुवाकोटले लिएको ३ अर्ब ३१ करोड ६४ लाख ९० हजार रकम अधिकांश योजनाहरू साना आकारका (१० लाख हाराहारीका) रहेको देखिन्छ। समग्रमा जिल्लामा समानुपातिक तवरबाट विकास पु¥याउने सम्भावना छ।
भौतिक पूर्वाधार तथा विकास, पर्यटन र खानेपानी मन्त्रालयअन्तर्गत मात्रै ३ अर्ब ९४ करोड ७९ लाख १० हजारको विकास खर्च विनियोजन गरिएको छ। अन्य जिल्लाहरूमा विनियोजन भएको बजेट यस प्रकार रहेको छ:
काभ्रे: ३ अर्ब ३० करोड २५ लाख ७० हजार
चितवन: २ अर्ब ४८ करोड ५८ लाख ४० हजार
दोलखा: २ अर्ब ७४ करोड ९९ लाख ५० हजार
सिन्धुपाल्चोक: २ अर्ब ७९ करोड ९५ लाख ४० हजार
रामेछाप: २ अर्ब ३ करोड ११ लाख ४० हजार
ललितपुर: २ अर्ब २२ करोड ५४ लाख
सिन्धुली: २ अर्ब २५ करोड ९६ लाख ८० हजार
धादिङ: २ अर्ब १ करोड ४० लाख ५० हजार
भक्तपुर: १ अर्ब ५९ करोड ९३ लाख
रसुवा: ९२ करोड ५२ लाख ९० हजार