धादिङ । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुरसिंह लामालाई दलको नेताबाट हटाउन संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन सांसदहरूले केहीबेरअघि अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । बागमती प्रदेशको मुख्यमन्त्रीसमेत रहेका लामामाथिको अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसबाट हाल प्रतिनिधित्व गरिरहेका ४ मन्त्री (सामूहिक राजीनामा दिइसकेका छन्) सहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् ।
कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका सांसद इन्द्रबहादुर बानियाँको नेतृत्वमा संसदीय दलको कार्यालयमा बसेको सांसदहरूको बैठकपछि अविश्वास प्रस्ताव दर्ता भएको हो ।
कांग्रेस संसदीय दलको विधानमा संसदीय दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था छ । लामालाई मुख्यमन्त्रीबाट हटाउनको लागि संसदीय दलमा अविश्वासको प्रस्ताव दर्ता गरिएको हो ।
