धादिङ। नेकपा माओवादी केन्द्र पार्टी भित्रको आन्तरिक विवादको कारण जिल्ला समिति नेत्तृत्व विहिन हुन पुगेको छ ।
केही दिन अघि पार्टीको वागमती प्रदेश कमिटिले धादिङ जिल्ला समिति विघटन गरिदिएपछि नेकपा माओवादी केन्द्र धादिङले जिल्ला कमिटी चयन गर्ने उद्देश्यले बैशाख ३१ गते जिल्लाको प्रथम विस्तारित भेला आयोजना गरेको थियो ।
भेलामा जिल्ला कमिटीको चयन गर्ने प्रस्ताव अघि सारिएपनि पार्टी भित्रको गुटवन्दीका कारण निर्णयमा पु्ग्न नसकेको भेलामा सहभागी माओवादी केन्द धादिङका एक जिल्ला नेताले वताए ।
पछिल्लो समय माओवादी धादिङका नेताहरुको बिचमा आन्तरिक द्धन्द्ध निकै मजवुत वन्दै गएको छ । बागमती प्रदेशका पूर्वमुख्य मन्त्री एवम पार्टीका केन्द्रिय सदस्य शालिकराम जमकट्टेल र अर्का केन्द्रिय सदस्य रामवहादुर भण्डारी एकातिर र पुष्पबिक्रम मल्ल, धनबहादुर बुर्लाकोटी (विजय) लगयतका नेता अर्को कित्तामा देखिएका छन् ।
जमकट्टेल र भण्डारी पार्टीको जिल्ला समन्वय समितिको अध्यक्षमा मनराज भण्डारी शैलेशको नेत्तृत्वलाई निरन्तरता दिनु पर्ने पक्षमा छन भने मल्ल र बुर्लाकोटी मनराजको विकल्प खोज्नु पर्ने पक्षमा देखिएपछि जिल्ला नेत्तृत्व चयन रोकिन पुगेको हो ।
शालिकराम र रामबहादुर फेरि मनराजलाई नै संयोजक बनाएर पुरानै समितिलाई निरन्तरता दिने पक्षमा र बागमती इन्चार्ज हितबहादुर तामाङ, जिल्ला इन्चार्ज पुष्पविक्रम लगायतका नेता नयाँ समिति बनाएर जानुपर्ने पक्षमा भएपछि जिल्ला समितिको गठन हुन नसकेको नेकपा माओवादी केन्द्र धादिङका एक सदस्यले वताएका छन् ।
बैशाख ३१ गते गाउँ गाउँबाट उत्साहित भएर विस्तारित भेलामा आएका माओवादीका अगुवा कार्यकर्ता निराश भएर घर फर्कनु परेको माओवादीका जिल्ला तहका नेताहरुको भनाई छ ।
विस्तारित जिल्लाभेलामा जिल्ला स्थित केन्द्रीय सदस्य ,प्रदेश पदाधिकारीलाई अतिथि , जननिर्वाचित संघ र प्रदेश सांसद ,पालिका अध्यक्ष /उपाध्यक्ष , प्रदेश समिति सचिवालय सदस्य ,प्रदेश समिति सदस्य ,पालिका पदाधिकारी सचिव सम्म(५ जना मात्र ) जिल्ला भेलाको पदेन सदस्य र प्रदेश परिषद ,प्रदेश सल्लाहकार ,प्रदेश जेष्ठ कम्युनिस्ट मञ्च , जिल्ला समन्वय समिति सदस्य , जिल्ला सल्लाहकार सदस्य ,जिल्ला लेखा ,जिल्ला निर्वाचन र जिल्ला अनुशासन आयोग सदस्य समेत आमन्त्रित सदस्यको रुपमा उपस्थित भएका थिए ।
